अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट भुपाल गुरुङ सम्मानित

पोखरा । अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार भुपाल गुरुङ सम्मानित हुनुभएको छ। निर्धारित मितिमा प्रदान गर्न नसकिएको उक्त पुरस्कार बुधबार पोखरामा आयोजित विशेष समारोहमा उहाँलाई अर्पण गरिएको हो।

गत जेठ २० गते कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकमा सम्पन्न छैटौँ अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण आरोहण दिवसको समापन समारोहमा गुरुङलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरिएको थियो। विशेष परिस्थितिका कारण निर्धारित मितिमा पुरस्कार वितरण हुन नसकेपछि बुधबार विशेष समारोह आयोजना गरी पुरस्कार अर्पण गरिएको हो।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा अन्नपूर्ण म्याराथन–२०८३ का संयोजक ललित गुरुङले पत्रकार गुरुङलाई पुरस्कार अर्पण गरिएको जानकारी दिनुभयो। पुरस्कारसँगै सम्मानपत्रसमेत प्रदान गरिएको थियो।

प्रतिभा छनोट समितिको सिफारिसका आधारमा हाल कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङलाई समितिका अध्यक्ष ललित गुरुङ, महासचिव दिलिप गुरुङ, सचिव मिकास गुरुङ, छोम्रोंग पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनराज गुरुङ, प्रतिभा छनोट समितिका संयोजक राजबहादुर गुरुङ, सदस्य हरिप्रसाद भट्टराई, मिडिया संयोजक टंकराज अधिकारी, अधिवक्ता हरिप्रसाद पण्डित, समाजसेवी गोपाल गुरुङ, सूर्यबहादुर गुरुङलगायतले पुरस्कार अर्पण गर्नुभयो।

अन्नपूर्ण गाउँपालिका–घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले स्थापना गरेको उक्त पुरस्कार अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना पत्रकारलाई हरेक वर्ष अन्नपूर्ण आरोहण दिवसका अवसरमा प्रदान गर्दै आएको छ।

यस वर्षको प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ रहनुभएको थियो। समितिका सदस्यमा पत्रकार तथा कानुनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक टंकराज अधिकारी तथा पदेन सदस्यका रूपमा समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ रहनुभएको थियो।

यसअघि उक्त पुरस्कारबाट पत्रकार बासुदेव पौडेल, दीपक परियार, रुपनारायण ढकाल, सन्तोष पोखरेल, रविचन्द्र पराजुली र रोहितराज पराजुली सम्मानित भइसकेका छन्।

स्याङ्जाको वालिङ नगरपालिका–३ राम्चे (साविक माझकोट शिवालय गाविस–२) मा जन्मिनुभएका गुरुङ हाल पोखरा महानगरपालिका–१० अमरसिंहचोकमा बसोबास गर्दै आउनुभएको छ।

वि.सं. २०६४ सालदेखि पत्रकारितामा सक्रिय गुरुङ पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ। उहाँले गोर्खाली रेडियोमा तीन वर्ष, युनाइटेड राष्ट्रिय दैनिकमा पाँच वर्ष सहसम्पादक, सगरमाथा टेलिभिजनमा गण्डकी प्रदेश प्रमुखका रूपमा नौ वर्ष तथा विगत आठ वर्षदेखि कान्तिपुर टेलिभिजनमा कार्यरत रहँदै आउनुभएको छ।

पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका लागि उहाँ यसअघि क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६, टंकदेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७८, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कार–२०७९ तथा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ–कमला गुरुङ पत्रकारिता पुरस्कार–२०७९ लगायतका सम्मान प्राप्त गरिसक्नुभएको छ।

हाल गुरुङ नेपाल पत्रकार महासंघ कास्कीका जिल्ला सचिव हुनुहुन्छ। साथै उहाँ आदिवासी जनजाति पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च गण्डकी, नेपाल प्रेस युनियन, चलचित्र पत्रकार सङ्घलगायत विभिन्न व्यावसायिक संस्थामा सक्रिय रूपमा आबद्ध हुनुहुन्छ।

Advertisment