भारतीय सेना प्रमुख सेठ पोखरामा भूपू सैनिकहरूलाई सम्बोधन, नयाँ कल्याणकारी योजनाको घोषणा

पोखरा। भारतीय स्थल सेनाका प्रमुख जनरल धिरज सेठले पोखरास्थित भारतीय दूतावासको पेन्सन वितरण कार्यालय परिसरमा आयोजित एक विशेष समारोहका बिच भूपू गोर्खा सैनिक र तिनका परिवारका लागि नयाँ कल्याणकारी योजनाहरूको घोषणा गर्नुभएको छ।

करिब २५ हजार भारतीय गोर्खा भूतपूर्व सैनिकहरूले सेवा निवृत्तपछि पेन्सन लिने यस प्रमुख केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य, यातायात र व्यावसायिक तालिमका क्षेत्रमा थप सुधार र सहजीकरण गरिने प्रतिबद्धता जनाउनुभयो।

बुधवार बिहान काठमाडौँबाट हेलिकप्टरमार्फत पोखरा आइपुग्नुभएका भारतीय सेना प्रमुख सेठ पोखराको पुरानो विमानस्थलमा अवतरण गर्नुभएको थियो।

त्यसपछि उहाँ नागढुङ्गा, पृथ्वीचोक, पुरानो बसपार्क र बुद्धचोक हुँदै रामबजारस्थित पेन्सन वितरण कार्यालय पुग्नुभएको थियो। उच्चस्तरीय भ्रमणलाई ध्यानमा राख्दै भारतीय सेना प्रमुख पोखरा आउँदा यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

सम्मान तथा राहत वितरण

समारोहमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै १० जना वीर नारीहरूलाई भारतीय सेना प्रमुखकी धर्मपत्नी कोमल सेठले उपहारसहित सम्मान गर्नुभयो। यस्तै, सेना प्रमुख सेठले:

 योद्धा सेवा सम्मान: ९ जना पूर्व गोर्खा सैनिकहरूलाई बहादुर सैनिकका रूपमा सम्मान।

 सवारी साधन वितरण: कर्तव्य पालनाका क्रममा घाइते तथा अङ्गभङ्ग भएका ८ जना भूपू सैनिकलाई जीवन सहज बनाउन मोडिफाइड स्कुटर प्रदान।

 बहादुरी पदक विजेता सम्मान: विभिन्न बहादुरी पदक प्राप्त गरिसकेका १० जना पूर्व सैनिकहरूलाई सल ओढाएर सम्मान।

अवकाशपछिको सम्मान : भारतिय सेनाको अवकाश पछि पनि नेपालमा रही बिभिन्न सामाजिक कृयाकलापमा सकृय रहेर योगदान पुरया्एका भु.पु सैनिकलाई समेत सेमापति सेठद्दारा सम्मान गरिएको थियो ।

नयां कल्याणकारी योजनाहरू

 स्वास्थ्य उपचारमा सहजता: पश्चिम नेपालका भूपू सैनिक र तिनका परिवारलाई काठमाडौँ वा पोखरा धाउनुपर्ने बाध्यता हटाउन कोहलपुरमा नयाँ ECHS पोलिक्लिनिक सञ्चालनमा ल्याइएको छ भने पोखरा लगायतका अन्य पोलिक्लिनिकमा आधुनिक चिकित्सा उपकरणहरू थप गर्ने प्रक्रिया सुरु भइसकेको छ।

 यातायात सुविधा: भूपू सैनिकहरूको माग अनुसार सुनौलीदेखि गोरखपुरसम्म बस सेवा सञ्चालन गर्ने प्रस्तावमाथि छिट्टै सकारात्मक निर्णयमा पुगिने जानकारी गराइयो।

 व्यावसायिक तालिमको मान्यता: नेपालका विभिन्न जिल्ला सैनिक बोर्डहरूमार्फत सञ्चालित कम्प्युटर, ब्युटिसियन र फेसन डिजाइनिङ जस्ता व्यावसायिक तालिमका प्रमाणपत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सिक्किमको मेधावी स्किल युनिभर्सिटीसँग सम्झौता गरिएको छ।

सहकार्यको सन्देश :

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय सेना प्रमुख धिरज सेठको भनाइ थियो, “नेपाल र भारतबिचको सम्बन्ध सदियौँ पुरानो छ। यो सम्बन्ध केवल दुई छिमेकी देशहरूबिचको भौगोलिक सीमामा मात्र सीमित नरही संस्कृति, परम्परा, धार्मिक आस्था र इतिहासको साझा सम्बन्ध हो। भगवान् राम र सीताको सम्बन्ध, पशुपतिनाथ र काशीको धार्मिक आस्था तथा खुला सीमाले दुवै देशका जनतालाई सधैँ नजिक राखेको छ।”

उहाँले थप भन्नुभयो, “अहिले मैले मेरोसामु ती वीर सैनिकहरू तथा योद्धाहरूलाई सम्झिरहेको छु, जसले आफ्नो जवानी भारतीय सेनाका लागि समर्पित गरे। उनीहरू बिना भारत र नेपालबिचको सम्बन्ध सायद आज यो अवस्थासम्म आउने थिएन। भूपू सैनिकहरूले कहिल्यै एक्लो महसुस नगर्नुहोला, कुनै समस्या परेमा भारतीय सेना सहयोग गर्न सधैँ तयार छ।”

समारोहमा पेन्सन वितरण कार्यालयका प्रमुख चित्तरञ्जन साहु तथा पोखरास्थित नेपाली सेनाका सुरक्षा अधिकारीहरूले सेना प्रमुख सेठको स्वागत गर्नुभएको थियो। औपचारिक कार्यक्रमपछि भूपू सैनिक, नेपाल-भारत मैत्री विद्यालयका विद्यार्थी र सञ्चारकर्मीहरूसँग सामूहिक तस्बिर खिचाउनुका साथै साक्षात्कार गरी उहाँ मध्याह्न काठमाडौँ फर्किनुभएको भारतिय राजदुताबास पेन्सन वितरण कार्यालय पोखराका जनसम्पर्क अधिकारी भुषण पाण्डेले जानकारी दिनुभएको छ ।

Advertisment