कृष्णभक्त ब्रह्मचार्य
२१ औँ शताब्दीको उत्तरार्धमा दक्षिण एसियाली क्षेत्र तीव्र सामरिक र भू-राजनीतिक हलचलबाट गुज्रिरहेको छ। चीन र भारतजस्ता दुई उदीयमान विश्वशक्तिहरूका बीचमा अवस्थित नेपालको विशिष्ट भौगोलिक अवस्थितिले गर्दा हाम्रो सुरक्षा संवेदनशीलता अत्यन्तै उच्च छ। इन्डो-प्यासिफिक क्षेत्रमा विश्वशक्तिहरूबीच भइरहेको रणनीतिक प्रतिस्पर्धा, खुला सिमानाबाट हुने सीमापार अपराध, साइबर युद्ध र क्षेत्रीय अशान्तिको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव नेपालको सुरक्षा संरचनामा परिरहेको छ। छिमेकी मुलुकहरूमा भइरहने राजनीतिक तथा सुरक्षा हेरफेर, सीमा सुरक्षाका चुनौती र अन्तर्राष्ट्रिय मञ्चमा देखा पर्ने गैर-पारम्परिक सुरक्षा खतराहरू (Non-traditional Security Threats) सँग जुध्न सक्षम हुनु आजको प्राथमिक आवश्यकता हो।
यस्तो संवेदनशील अन्तर्राष्ट्रिय र क्षेत्रीय पृष्ठभूमिमा राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र आन्तरिक अमनचयन कायम राख्ने अन्तिम मेरुदण्ड देशको सुरक्षा फौज नै हो। तर, दुर्भाग्यवश नेपालको सुरक्षा संयन्त्र बाह्य सूक्ष्म कुदृष्टि, शक्ति राष्ट्रहरूको गुप्तचरी सञ्जाल र क्षेत्रीय दबाबको मारमा मात्र परेको छैन; यो आन्तरिक रूपमा झाङ्गिएका संस्थागत विकृति, विभेदकारी मानसिकता र नेतृत्वको दूरदर्शिताको कमीले पनि गम्भीर रूपमा जकडिएको छ।
वर्तमान अवस्थामा सुरक्षा फौजप्रति सर्वसाधारण जनताबाट देखिने अमर्यादित व्यवहार, सरकारको उदासीनता एवं लाचार प्रवृत्ति, र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सुरक्षा संवेदनशीलतालाई अवमूल्यन गर्ने भू-राजनीतिक स्वार्थहरूले सुरक्षा संयन्त्रलाई चौतर्फी घेराबन्दीमा पारेका छन्। विभिन्न सरकारी निकायहरूबीच आपसी समन्वयको अभाव, संस्थागत ईर्ष्या र भ्रष्ट नीतिका कारण सुरक्षा फौजको साखमा आँच पुगिरहेको छ। झन् चिन्ताजनक कुरा के छ भने सिपाही (तल्लो तह) देखि आईजीपी वा प्रधानसेनापति (उच्च तह) सम्मका तहहरूमा पदीय मर्यादा, उत्तरदायित्व र आत्मीयताको बुझाइमा ठूलो खाडल देखिएको छ।
फरक-फरक दर्जाका राष्ट्रसेवकहरूबीच भिन्न-भिन्न बोली, असन्तुष्ट भाषा र पदीय आडमा गरिने गैरजिम्मेवार व्यवहारले संगठनको आधारभूत जग मानिने गोपनीयता, अभेद्य एकता र ‘कमरेडरी’ (Comradeship) लाई नै शिथिल बनाइदिएको छ। छिमेकी देशहरूका तालिमप्राप्त र अनुशासित सुरक्षा संयन्त्रहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने समयमा हाम्रा संगठनभित्र मौलाएको खुट्टा तान्ने, चाकडीबाज र ‘हाम्रा’ लाई काखा अनि ‘राम्रा’ लाई पाखा लगाउने विभेदकारी परिपाटीको अन्त्य हुन आवश्यक छ। योग्यता र निष्पक्षताका आधारमा वृत्तिविकास हुने पारदर्शी प्रणाली बसाल्नु आजको प्राथमिक राष्ट्रिय आवश्यकता बनेको छ।
ब्यारेक वा जोखिमपूर्ण सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूका लागि कार्यक्षेत्रमा फर्किएपछि घरायसी पीर-मर्का बिर्सिएर उच्च मनोबलका साथ राष्ट्रसेवामा समर्पित हुन सक्ने कल्याणकारी वातावरण निर्माण गरिनुपर्छ। तर, दशकौँदेखि कायम सामन्ती र अमानवीय मानसिकता अझै पूर्ण रूपमा मेटिन सकेको छैन। तल्लो तहका सिपाहीको परिवारमा गम्भीर स्वास्थ्य समस्या (जस्तै: आकस्मिक रूपमा अस्पताल भर्ना हुनुपर्दा) बिदा माग्दा “तँ डाक्टर होस् र जानुपर्छ?” भनी हप्काइने, तर उच्च पदस्थ अधिकारीहरू आफ्नै परिवारको सामान्य समस्यामा पनि सम्पूर्ण पदीय शक्ति र स्रोतसाधन प्रयोग गरेर धाउने दोहोरो मापदण्डको पूर्ण अन्त्य हुनुपर्छ।
देशमा अशान्ति र अमनचयन खलल हुँदा ज्यानको बाजी लगाएर स्थिति नियन्त्रणमा लिने, बाढी-पहिरो, कठिन भीर-पहरा वा भूकम्पको जोखिमपूर्ण उद्धार गर्ने, संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (UN Peacekeeping) मार्फत विश्वकै कठिन युद्धक्षेत्रहरूमा सफलतापूर्वक दायित्व पूरा गरी अन्तर्राष्ट्रिय स्तरमै क्षमता प्रमाणित गर्ने र बीसौँ वर्ष पुराना जटिल अपराधहरूको छानबिन गरी दोषी पत्ता लगाउन सक्ने क्षमता भएको हाम्रो सुरक्षा फौज आफ्नै आँखाअगाडि मौलाएका यस्ता झिनामसिना तर घातक आन्तरिक विकृतिहरू निरूपण गर्न किन असक्षम भइरहेछ? यो गम्भीर संस्थागत कमजोरीको वास्तविक जरो पत्ता लगाउनु अपरिहार्य छ।
राष्ट्रसेवक तथा देशभक्त सिपाहीहरूको त्याग, बलिदान र मनोबललाई सही रूपमा बुझ्न नसक्नु वर्तमान नेतृत्वको ठूलो असफलता हो। कुनै पनि नेतृत्वको सफलताको मेरुदण्ड नै तल्लो तहका जवानहरूको निस्वार्थ सेवा, समर्पण र विश्वास हो भन्ने सत्यलाई बिर्सनु ठूलो भुल हो। अर्कातिर, सेवानिवृत्त भइसकेपछि पनि पूर्वसुरक्षाकर्मीहरूलाई संगठन, समाज र सरकारले गर्ने असहाय र अमर्यादित व्यवहारले यो अवस्थालाई झनै भयावह बनाएको छ। जीवनको ऊर्जाशील समय देशका लागि समर्पित गरेका अवकाशप्राप्त अधिकृत तथा जवानहरू सेवानिवृत्त भएपछि जागिरका दौरानमा कुनै गल्ती गरेजस्तो हीनभाव बोकेर गुप्तबास बस्नुपर्ने परिस्थिति अत्यन्तै दुःखद छ।
देशमा भ्रष्टाचारको बिगबिगी, कुशासन र वैदेशिक प्रभाव चरम चुलीमा पुग्दा, छिमेकी तथा बाह्य शक्तिहरूले देशका आन्तरिक मामलामा खेल्न खोज्दा समेत राष्ट्रको अनुभव र शक्ति मानिने पूर्वदिग्गजहरू—जस्तै पूर्वसचिव, पूर्वमन्त्री, पूर्वआईजीपी तथा अवकाशप्राप्त उच्च सैन्य अधिकारीहरू र दक्ष पेसाकर्मीहरू मौन बस्नुले उनीहरूको राष्ट्रिय दायित्वमाथि नै प्रश्नचिह्न खडा गरेको छ।
विश्वभर तीव्र रूपमा फैलिरहेको प्रविधि, क्षेत्रीय सामरिक समीकरण र सामाजिक परिवर्तनका बीच नेपालले पनि समयमै ठोस कदम चाल्न सकेन भने यसको परिणाम भयावह हुनेछ। सर्वसाधारण जनता, सरकार, सरकारी संयन्त्र तथा सम्बन्धित आयोगहरूले यो विषम परिस्थितिलाई यथाशीघ्र गम्भीरतापूर्वक लिनुपर्छ। यदि समयमै आन्तरिक सुधार गरिएन, चेतनशील भइएन र समयानुकूल रूपान्तरित नेतृत्व दिन सकिएन भने भविष्यमा आउने नवपुस्ताको (Gen-Z) असन्तोष, आन्तरिक फौजी विद्रोह वा जनक्रान्तिले देशको प्रशासनिक संरचना मात्र होइन, कसैको घरबार र व्यक्ति स्वयंको अस्तित्व नै समाप्त पार्ने जोखिम रहन्छ। यसको अर्थ वर्तमान सुरक्षा र सरकारी नेतृत्व कमजोर छ भन्न खोजिएको होइन; बल्कि आधुनिक अन्तर्राष्ट्रिय र क्षेत्रीय मापदण्ड अनुसार अझ परिष्कृत, सुसंस्कृत, प्रविधिमैत्री र दर्बिलो नेतृत्व कायम होस् भन्ने हो।
दैवी प्रकोप र विषम सङ्कटमा ज्यानको बाजी लगाउने तल्लो दर्जाका कर्मचारीहरू, जुनसुकै कठिन परिस्थितिमा संयम र विवेक अपनाई मार्गदर्शन गर्ने उच्च नेतृत्व, र देशको सुरक्षालाई सर्वोपरि मानी समर्थन गर्ने देशभक्त जनताबीचको मजबुत त्रिकोणीय सहकार्यबाट मात्रै बाह्य र आन्तरिक खतराहरूबाट देशको अस्तित्व जोगाउन सकिन्छ।
अतः ब्ल्याकमेलिङ (Blackmailing), चुगली वा कुरा काट्ने (Backbiting), र छलछामयुक्त कुराकानी (Bluff-talking) जस्ता सामाजिक विखण्डनकारी प्रवृत्ति र विकृत मानसिकताबाट गुज्रिरहेको वर्तमान राजनीति, सामाजिक वातावरण र बाह्य अन्तर्राष्ट्रिय दबाबको सङ्क्रमित अवस्थालाई चिर्नु आजको मुख्य चुनौती हो। अबको सुरक्षा संयन्त्रलाई केवल परम्परागत शान्ति-सुरक्षामा मात्र सीमित नराखी देशको उत्पादनमूलक, आर्थिक समृद्धि, सीमा सुरक्षा र राष्ट्र निर्माणका बृहत् आयोजनाहरूमा वैज्ञानिक रूपमा केन्द्रित गराउन पारदर्शी, सुशासित र दूरदर्शी रणनीति कार्यान्वयनमा ल्याउन अब पटक्कै ढिलाइ गर्नु हुँदैन। समयमै गरिएको सुधारले मात्र सुरक्षा फौजको व्यावसायिक मर्यादा कायम राख्दै अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा नेपालको स्वाभिमान र शिर उच्च बनाउन सक्नेछ।
लेखक:स प्र ना म नि कृष्ण भक्त ब्रम्हचार्य (अवकाशप्राप्त) हुनुहुन्छ ।
संस्थापक: राष्ट्रिय स्वाभिमान अभियान र अवकाशप्राप्त पेसाकर्मीहरूको सञ्जाल (@NationalSelfEsteemCampaign & @RetiredProfessionalsNetwork)




