युनाईटेड खबर, पोखरा। नेवा खल कास्कीको पोखरामा सम्पन्न अधिवेशनले अध्यक्षमा अशोक पालिखे पुनः सर्वसम्मत सर्वसम्मत चयन हुनुभएको छ।
अधिवेशनबाट कार्यसमिति सदस्यहरूमा विक्रम उदास, शम्भुलाल श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, भैरवलाल श्रेष्ठ, चन्द्रबहादुर राज भण्डारी, कल्पना श्रेष्ठ, शान्तकुमार श्रेष्ठ, सबिन्द्र श्रेष्ठ, ऋषभ तिमिला र प्रकाशलाल श्रेष्ठ चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष पालिखेले कार्यसमितिका सदस्य मध्येबाट पदाधिकारीहरूसमेत मनोनयन गर्नुभएको छ। जसअनुसार उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ र सुविन्द्र श्रेष्ठ, महासचिवमा भैरवलाल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर राज भण्डारी तथा सचिवमा शम्भुलाल श्रेष्ठ चयन हुनुभएको छ।
निर्वाचन सम्पन्न गराउन दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिमा निरञ्जन श्रेष्ठ, सुरसकुमार मानन्धर र संगीता बज्राचार्य सदस्यका रूपमा रहनुभएको थियो।
यसअघि अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पालिखेले संस्थाका गतिविधि, योगदान र अन्य सामाजिक संस्थाहरूसँगको सहकार्यबारे चर्चा गर्नुभएको थियो। उहाँले नेवारी कला, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि संस्था निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेवा खल कास्कीका कार्यसमिति सदस्य, सल्लाहकार, संस्थागत, पदेन तथा आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको थियो। त्यसैगरी नेवा ल्याम्ह पुच, नेवा मिसा पुच, नेवा पत्रकार पुच, नेवा झिगु भाय् झिगु संस्कृति, कास्की जिल्लामा क्रियाशील कचाः खल, पुच खल, नेवा टोल समिति तथा तायामचा नाच समितिका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
उद्घाटन सत्रको सञ्चालन संस्थाका महासचिव कृष्ण कतिलाले गर्नुभएको थियो।




