दक्षिण एसियाली सेभेन ए साईड अन्र्तराष्ट्रिय फुटबल खेलमा टिम नै नक्कली, आयोजक माथी गम्भिर प्रश्न खडा, छानविन गर्न चौतफी माग

 

पोखरा १ माघ ।
भुटान र माल्दिभ्सले पोखरामा जारी  १२ औँ दक्षिण एसियाली सेभेन ए साईडमा फुटबल प्रतियोगितामा आफ्नो राष्ट्रिय टिमको सहभागितामा गम्भीर प्रश्न उठाएका छन्।

भुटान फुटबल संघ र माल्दिभ्स फुटबल एसोसिएसनले भुटान सेभेन ए साईड फेडेरेसन र माल्दिभ्स सेभेन ए साईड फेडेरेसन नामका कुनै संस्था नभएको जनाएका छन्। साथै दुबै देशको कुनै राष्ट्रिय सेभेन ए साईड टिम समेत नरहेको प्रष्ट पारेका छन्। भुटान फुटबल एसोसिएसनका पदाधिकारी सोनम जट्टुले आफु भुटान प्रतियोगितामा भाग लिएको समाचारले आश्चर्यचकित भएको बताए। साथै भुटानको सेभेन ए साईडको कुनै राष्ट्रिय टिम नरहेको र यस प्रतियोगितामा भाग लिएको विषयमा गम्भीर आपत्ति पनि जनाए। त्यस्तै माल्दिभ्स फुटबल एसोसिएसनका सचिव जवाजले अहिले प्रतियोगितामा भाग लिएको टिमको आफुसँग कुनै सम्बन्धन नरहेको र माल्दिभ्समा राष्ट्रिय सेभेन ए साईड टिम या संघ पनि नरहेको स्पष्ट पारे।

प्रतियोगिताको पहिलो दिन नेपालले भुटान माथी ४( ० को र बङ्लादेशले माल्दिभ्समाथी १६ – ० को भारी अन्तरको जीत हासिल गरेका थिए।नेपाल सेभेन ए साईड संघ राष्ट्रिय खेलकुद परिषद् मा दर्ता भएको छ तर प्रतियोगिता सम्बन्धि कुनै जानकारी राखेपले पाएको छैन। त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागी खेलकुद मन्त्रालयबाट लिनुपर्ने अनिवार्य नो अब्जेक्सन लेटर समेत नलिईएको पाईएको छ।पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले सहभागी टिम नक्कली भएको जानकारी पाउँदा आफु चकित परेको बताए। साथै आयोजकले प्रतियोगिता सञ्चालनका लागी राखेपबाट कुनै अनुमती समेत नलिएको पौडेलले बताए।

त्यस्तै खेलकुद मन्त्रालयका प्रवक्ता राम थपलियालाई सम्पर्क गर्दा पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भईरहेको बारे अनभिज्ञ रहेको जनाए। उनले भने,” हामीलाई यस विषयमा कुनै जानकारी छैन। यस सम्बन्धमा राखेप र एन्फालाई सोध्नपर्छ। यो विषयमा अनुसन्धान गर्नु राखेपको जिम्मेवारी हो र २६ बुदेँ निर्देशन अनुसार राखेपले यसको नियन्त्रण गर्नुपर्छ। यदि आवश्यक परेमा खेलकुद मन्त्रालयले हस्तक्षेप गर्नेछ।” सेभेन ए साईड फुटबल एन्फाले निगरानी नराख्ने हुँदा यस सम्बन्धमा एन्फा पनि जिम्मेवार देखिदैन।

सेभेन ए साईड फुटबल फेडेरेसनका सचिब डि।बि नेपालीलाई यस सम्बन्धमा सम्पर्क गर्न खोज्दा उनले फोन अध्यक्ष नबिन पुनलाई दिएका थिए। पुनले प्रतियोगितामा भाग लिएका टिमको आधिकारिकता सम्बन्धी आफुलाई जानकारी नभएको बताए। उनले भने,” प्रतियोगिता दक्षिण एसियाली सेभेन ए साइड फेडेरेसनको आयोजनामा भएको हो र हामीले यसपटक प्रतियोगिता पोखरामा गरेका छौँ। हामीलाई सहभागी टिमहरु आधिकारिक हुन् भनेर जानकारी दिइएको थियो। यदि खेलाडीहरु सम्बन्धित देशको नभएमा म केहि भन्न सक्दिन।”

स्रोतका अनुसार भुटान, माल्दिभ्स लगायतका टिममा भारतका स्थानीय खेलाडी संलग्न छन्। माल्दिभ्सका एक अधिकारीले माल्दिभ्सको राष्ट्रिय टिम देखेर आफु अचम्मित भएको बताए। उनले टिमका एक पनि खेलाडी माल्दिभ्सको नभएको पनि जानकारी दिए। उनले भने ,” नेपालको खेलकुद मन्त्रालयले यसको अनुसन्धान गर्नुपर्छ।”

यो घटनाले नेपालको खेलकुद परिषद् र खेलकुद मन्त्रालय बिचको समन्वय स्पस्ट पार्छ। खेलकुद सम्बन्धित संस्थाहरु बिच उचित समन्वय नहुँदा जो कोहिले यस्ता गतिविधि गरेर नेपाली खेलका दर्शकलाई मुर्ख बनाउन सक्छ। यसैबिच
दुई राष्ट्रका नाममा सम्बन्धित देशबाहिरका खेलाडीलाई खेलाइएको भन्ने समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै कास्की जिल्ला फुटबल संघका पूर्व सचिव सुदर्शन रञ्जितले सत्यतथ्य छानविनको माग गरेका छन् ।

पुस २९ गते देखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका,बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता रहेको जनाइएको छ । तर, भुटान र माल्दिभ्स टोलीका नाममा भारतीय खेलाडी खेलाइएको समाचार सार्वजनिक भएपनि त्यसप्रति चासो र चिन्ता व्यक्त गरिएको रञ्जितले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘माल्दिभ्स र भुटानको नाममा खेलेका खेलाडीहरु भारतीय भएको संचार माध्यममा समाचार छ । सम्बन्धित देशले आफ्ना खेलाडी नभएको भनेर सार्वजनिक अपिल गरिरहेको अवस्थामा नेपालको अन्तराष्ट्रिय छवी कहाँ पुग्ला रु यदि यो सत्य हो भने अन्तराष्ट्रिय प्रतियोगितामा सबैभन्दा ठूलो गल्ती हो भन्ने मैले बुझेको छु ।’

उनले विज्ञप्तीमा अगाडी भनेका छन्, ‘फरक देशका खेलाडीले आफै समूह बनाएर अर्को कुनै देशको नामबाट खेल्दा पनि अनभिज्ञ नेपाली फुटवलका नियमक निकाय माथी यो ठूलो प्रश्न हो । त्यस माथी प्रतियोगितालाई गरिमामय सांसदले उद्घाटन गरेको प्रतियोगिता नियम विपरित हुँदा त्यसको सन्देश कस्तो जाला ?’

रञ्जितले नेपाली फुटबल वा खेल जगतका नियमक निकाय (युवा तथा खेलकुद मन्त्रालय, राखेप, क्षेत्रीय खेलकुद विकास समिति लगायत) ले यसको तथ्य अनुगमन र अनुसन्धान गरी बास्तविकता सार्वजनिक गर्न अपिल समेत गरेका छन् ।

 

Advertisment