तमु प्ये ल्हु संघ कास्की महिला समितिको अध्यक्षमा खकी माया तमु निर्वाचित

पोखरा। तमु प्ये ल्हु संघ जिल्ला महिला कार्यसमिति कास्कीको दशौँ स्थापना दिवस, वार्षिक साधारणसभा, चौथो अधिवेशन तथा सम्मान कार्यक्रम पोखरामा सम्पन्न भएको छ। बिहीबार संघको सभाहलमा आयोजित अधिवेशनले खकी माया तमुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नवगठित समितिको उपाध्यक्षमा उमा तमु, सचिवमा पुष्प तमु, सहसचिवमा रत्न तमु, कोषाध्यक्षमा रामकुमारी तमु र सहकोषाध्यक्षमा रिश काशी तमु निर्वाचित हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा उमा देवी तमु, डिल शोभा तमु, लिलु तमु, नुम माया तमु, कौमती तमु, टौसरी तमु, रामकुमारी तमु, नानी माया तमु, शान्ति तमु, संगीता तमु, सन्तोषी तमु, धनकुमारी तमु, सेती माया तमु, पारु तमु, पुष्प तमु र रिता तमु रहनुभएको छ।

अधिवेशन अघि बिहानको शुभसाइतमा संघका जिल्ला पच्यु अध्यक्ष भीमबहादुर तमुले छ्योपा पूजा गरी स्वस्ती–शान्ति तथा सुख, समृद्धिको कामना गर्नुभएको थियो। औपचारिक कार्यक्रम जिल्ला महिला समितिका अध्यक्ष तिलमाया तमुको अध्यक्षतामा सम्पन्न भएको हो।

बोन धर्म दर्ता हुनु महत्वपूर्ण उपलब्धि

कार्यक्रमका प्रमुख अतिथि तमु प्ये ल्हु संघ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक हितकाजी टु क्ल्हेप्री तमुले हालै राष्ट्रिय पञ्जीकरण विभाग, सिंहदरबारमा बोन धर्म दर्ता हुनु तमु समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले अब विवाह तथा जन्मदर्ता लगायतका सरकारी अभिलेखमा अनिवार्य रूपमा बोन धर्म उल्लेख गर्न समुदायलाई आग्रह गर्नुभयो।

कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष ओम बहादुर तमुले संघका गतिविधि र अभियानलाई प्रभावकारी बनाउन महिला समितिले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। केन्द्रीय पूर्वअध्यक्ष रूपबहादुर तमुले निरन्तरको निष्ठा र सेवाभावले सक्षम महिला नेतृत्व स्थापित हुन सफल भएको भन्दै नयाँ नेतृत्वलाई बधाई दिनुभयो।

यसैगरी, केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष सन्तोष तमुले धर्म, संस्कार र संस्कृतिको जगेर्नाका लागि चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। केन्द्रीय बोन लम समितिका अध्यक्ष चोक बहादुर लम तमुले प्ये छ्या संरक्षण तथा हस्तान्तरणका क्रममा आफूले तीन जना शिष्यलाई भार ग्रहण गराइसकेको जानकारी दिनुभयो।

योगदानकर्ता र प्रतिभालाई सम्मान

कार्यक्रममा युवा खेगीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलमाया तमु र दीपक तमुद्वारा स्थापित ‘कुलराम अक्षयकोष’बाट दोर्दी गाउँपालिका, लमजुङका डम्बरबहादुर लम तमुलाई माला, फेटा, भाङ्ग्रा, सम्मानपत्र तथा नगदसहित सम्मान गरिएको थियो।

साथै, जिल्ला महिला समितिलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुहुने तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर तमु र उहाँकी धर्मपत्नी हिन्दुमाया तमुलाई प्रशंसापत्र, फेटा र दोसल्ला ओढाएर सम्मान गरियो। १५ हजार रुपैयाँ सहयोग गर्ने मार्गी थिम्चें समाजका अध्यक्ष मनकाजी तमु लगायत अन्य सहयोगी महानुभावहरूलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा केन्द्रीय महिला समितिका अध्यक्ष बुद्धिमाया तमु, गण्डकी प्रदेश अध्यक्ष कुलप्रसाद तमु, संघ कास्कीका अध्यक्ष निम बहादुर तमु, ढोर फिरफिरे तमु समाजका अध्यक्ष सुबेदार नन्दबहादुर तमु र श्री शान्त तमु समाजका अध्यक्ष चिजा तमु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

उपाध्यक्ष खकी माया तमुले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रमको सञ्चालन सचिव बिना तमुले गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न सांस्कृतिक टोलीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

संस्कृति हस्तान्तरणमा सहकार्य गर्ने प्रतिबद्धता

नवनिर्वाचित अध्यक्ष खकी माया तमुले आफ्नो कार्यकालमा महिला सहभागिता वृद्धि गर्दै तमु धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरणका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Advertisment