कल्याण शेरचन स्मृति प्रतिष्ठान राष्ट्रव्यापी एकल लोकनृत्य प्रतियोगितामा जुट्यो

पोखरा, १६ बैशाख । नेपाली लोक स्रष्टा, साधक तथा शिल्पी स्वर्गीय कल्याण शेरचनको ७३ र्औ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान र नेपाल साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा साउन १२ गते पोखरामा राष्ट्रव्यापी खुल्ला एकल लोक नृत्य प्रतियोगिता हुने भएको छ ।

यस अघि जन्मजयन्तीकै अवसरमा राष्ट्रिय मादल बादन प्रतियोगिता र राष्ट्रिय सारङ्गी उत्सव प्रतिष्ठान र संस्थानको सहकार्यमा भव्यताका साथ सम्पन्न पश्चात स्वर्गीय शेरचनको विधा लोक नृत्य समेत रहेकाले आउदो जन्मजयन्तीमा एलक लोक नृत्य प्रतियोगिता गर्ने भएको हो।

पोखरामा हुने प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न कल्याण शेरचन स्मृति प्रतिष्ठान तयारीमा जुटेको छ। प्रतिष्ठानले प्रतियोगिताका सम्पन्न गर्नका लागि उपाध्यक्ष श्रीजंग गुरुङको संयोजकत्वमा आयोजक एवं प्रस्तावना तयारी समिति, कोषाध्यक्ष प्रदिप गौचनको संयोजकत्वमा विज्ञापन संकलन समिति र सल्लाहकार हुमबहादुर गुरुङको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ।

अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा सम्पन्न प्रतिष्ठानको बैठकले समितिहरु गठनसँगै प्रतिष्ठानको कार्यसमिति सदस्यमा धनबहादुर गायकलाई मनोनयन गर्ने निर्णय गरेको छ।

राष्ट्रव्यापी खुल्ला एकल लोक नृत्य प्रतियोगितामा सातै प्रदेशबाट विजयी एक महिला र एक पुरुष गरी ७ जना पुरुष र ७ जना महिलाले साउन १२ गते पोखरामा हुने फाइनल प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ। जिल्ला हुदै प्रदेश गरी दुइवटा चरणबाट उत्कृष्ठ हुदै फाइनल प्रवेश गरी उपाधि जित्ने पुरुषले १ लाख १ सय १ र महिलाले १ लाख १ सय १ रुपैया, दोश्रो दुवैले ५० हजार १, तेश्रो दुवैले २५ हजार १, सात्वना दुवैले १५ हजार १ रुपैया सहित पुरष्कृत हुने संयोजक श्रीजंग गुरुङले बताउनुभयो। यसरी नै उत्कृष्ठ नृत्य निर्देशक समेत पुरष्कृत हुनेछन, गुरुङले बताउनुभयो।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २२ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ।

Advertisment