चिनियाँ बैज्ञानिकले बनाए काेराेना बिरुद्व भ्याक्सिन, १४ जनामा गरिएको परिक्षण पनि सफल

एजेन्सी । कोरोना भाइरसबाट समस्यामा परेको चीनले १७ मार्चमा कोरोना भाइरसविरुद्ध बनाएको भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु गरेको थियो । चीनले पहिलो पटक मानिसमा परीक्षण गरेको थियो ।
अब भने परीक्षणको सफल रिजल्ट आउन सुरु भएको छ । चीनले क्लिनिकल ट्रायलका लागि १ सय ८ जना व्यक्तिलाई चुनेको थियो । उनीहरु कोरोना भाइरसविरुद्धको अभियानमा भोलिन्टियरको रुपमा परीक्षणमा आएका थिए । ती व्यक्ति मध्ये १४ जनामा भ्याक्सिन परीक्षणको अवधि सकिएको छ । उनीहरु आआफ्नो घर गएका छन् ।
चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको परीक्षण चीनको वुहान सहरमा गरेका थिए । परीक्षणपछि १४ जना पूर्णरुपमा ठिक छन् । उनीहरुलाई अहिले पनि मेडिकल निगरानी राखिएको छ ।

यो भ्याक्सिनलाई चीनका सबैभन्दा सिनियर साइन्टिस चेन वी र उनको टोलीले बनाएको थियो । परीक्षणमा संलग्न १ सय ८ जनामा १८ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिहरु रहेका थिए ।

१ सय ८ जनालाई तीन समूहमा विभाजन गरिएको थियो । तीन समूहका व्यक्तिलाई फरक फरक भ्याक्सिनको मात्रा दिइएको थियो । उनीहरुलाई वुहान स्पेशन सर्भिस हेल्थ सेन्टरको क्वारेन्टाइनमा परीक्षण गरिएको डेलीमेलले जनाएको छ ।

यी सबै व्यक्तिलाई अलग अलग दिनमा भ्याक्सिन दिइएको थियो । यी सबैजना क्वारेन्टाइनको समय पुरा हुने समयसम्म त्यही बस्नु परेको छ । १४ जना बाहेकका व्यक्ति अहिले पनि त्यहीँ रहेका छन् ।
ती १४ जनालाई भने घर पठाइएको छ । अब उनीहरुलाई असर देखिन्छ कि भनेर केही महिनासम्म मेडिकल निगरानीमा राखिनेछ । उनीहरुको हरेक दिन मेडिकल टेष्ट गरिएको छ ।

चिनियाँ वैज्ञानिकहरुले ती व्यक्तिमा कोरोना भाइरसविरुद्ध लड्ने पूर्ण क्षमताको बिकास भएपछि यो भ्याक्सिनलाई बजारमा पठाउने तयारी गरेका छन् । अहिले उनीहरुको शरीरमा एन्टिबडीको अवस्था हेरिएको छ ।

चिनियाँ वैज्ञानिकहरुले आफूहरुको पहिलो परीक्षण सफल भएको जनाएका छन् । उनीहरुले यसको शतप्रतिशत रिजल्ट आउँदासाथ अन्तर्राष्ट्रिय क्षेत्रमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन पठाउने जनाएका छन् ।

Advertisment