अदालत प्रभावित हुन सक्ने विषयमा सत्तापक्ष जिम्मेवार : महामन्त्री खड्का

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अदालत प्रभावित हुन सक्ने विषयमा सत्तापक्ष जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटनको विरोधमा पार्टीले सरकारविरुद्ध देशभरका स्थानीय तहमा गर्न लागेको प्रदर्शन अघि महामन्त्री खड्काले अदालत प्रभावित हुने काम कसैबाट पनि गरिन नहुने बताएका हुन् ।

उनले शनिबार बिहान ट्विट गरेर भनेका छन्, “अदालतमाथि कहीँ कतैबाट प्रभाव पार्ने कर्म हुनुहुँदैन । झन् यस मामिलामा सत्तापक्ष अरुभन्दा बढी जिम्मेवार भएर प्रस्तुत हुनुपर्दछ ।”

महामन्त्री खड्काले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाहरुको फैसला छिटो टुंग्याइनुपर्नेमा पनि जोड दिएका छन् ।

“प्रतिनिधि सभा विघटनसम्बन्धी विषयमा सम्मानित अदालतले जति सक्यो छिटो फैसला दिनुपर्छ । संवेदनशील विषयमा देश लामो समय अन्योलमा रहनु उपयुक्त हुँदैन,” उनले लेखेका छन् ।

Advertisment