भूतपूर्व सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भ – भारतीय सेनाध्यक्ष पाण्डे

गण्डकी, २२ भदौ(रासस)ः भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देश बीचको सम्बन्धको आधारस्तम्भका रुपमा रहेको बताउनुभएको छ ।

नेपाल भ्रमण रहनुभएका पाण्डेले आज पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कर्तव्यनिष्ठता, इमान्दारिता नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै उहाँले भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताउनुभयो । भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सन लगायतका सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको उहाँले बताउनुभयो ।

भारतीय सेनामा ३५ हजार गोर्खा सैनिक सेवारत रहेको र एक लाख २५ हजार भूतपूर्व सैनिक रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल र भारतबीच सांस्कृतिक, आहारविहार आदिमा समानता रहेको र खुल्ला सिमानाका कारण दुबै देशका नागरिक सहज रुपमा आवतजावत गर्दै आएको उहाँले बताउनुभयो ।

उक्त अवसरमा उहाँले भारतीय सेनामा कार्यरत रहँदा बीरगती प्राप्त गरेको सैनिकका परिवारजनलाई नगद चेक तथा सामाग्री हस्तान्तरण गर्नुभयो । साथै उहाँले दुर्गममा बस्ने भूतपूर्व सैनिकको स्वास्थ्योपचारलाई लक्षित गरी तीनवटा मोवाइल मेडिकल युनिटको चावी हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक र परिवारजनसँग सिष्टाचार भेट गर्नुभएको थियो । ––– वासुदेव पौडेल

Advertisment