हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा

श्रीभद्र पौडेल
पोखरा, २१ चैत।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको उद्घाटन दिन नजिकिदै गर्दा यसको तयारी अन्तिम चरणमा पुगेको छ ।
जस अन्तर्गत हालसम्म ९० प्रतिशत तयारी भइसकेको छ । स्टल निर्माण लगभग सकिएको छ भने हेमजाका बुद्ध चोक, मेलवोट, साँझा लगायत गरी कुल ७ स्थानमा स्वागतद्वार निर्माण गरिसकिएको छ ।
स्टलतर्फ कुल एक सय ४० मध्ये कृषिका लागि ३०, रेष्टुरेन्टका लागि १० तथा अन्य व्यापारी प्रयोजनका लागि १ सय स्टल निर्माण गरिसकिएको छ ।त्यस्तै स्थानीय पास वितरण सुरु हुनुका साथै बाल उध्यायन निर्माण कार्य भने जारी छ ।त्यस्तै महोत्सव स्थल घेरावार गर्नुका साथै सरसफाई समेत भइसकेको छ ।
महोत्सवकै लागि बुधवार साँझसम्म ४५ टन बढी आलु संकलन गरिसकिएको र आलु जोहो गर्ने कार्य भने निरन्तर चलिरहेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिए । यस वर्ष त्यहाँ करिव ८० टन आलु बिक्रीवितरण गर्ने लक्ष्य छ ।
यहि चैत २५ देखि बैशाख ५ गतेसम्म हुने महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा यस वर्ष १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुन लागेको हो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तरक्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।

Advertisment