पोखरा, १५ जेठ
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहका प्रमुख अतिथि उहाँले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभयो ।
लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल रहेको बताउनुुभयो ।
सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने भन्दै उहाँले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गर्नुभयो ।
सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छा पनि प्रकट गर्नुभयो ।
समारोहअघि प्रदेश प्रमुख भट्टले नेपाल प्रहरीबाट अर्पण सलामी ग्रहण गर्नुभयो । उहाँले गणतन्त्र दिवस समारोहमा गण्डकी प्रदेश सरकारबाट पुरस्कृत तथा सम्मानित नमुना कार्यालयहरु, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कदर पत्र प्रदान गर्नुभयो ।




