अन्नपुर्ण गाउंपालिकाले भिजिट अन्नपूर्ण कार्यक्रम अघि सार्दै

श्रीभद्र पौडेल
पोखरा १०, असार ।पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ अन्नपूर्ण गाउँपालिकाले आगामि आ.व मा भिजिट अन्नपूर्ण कार्यक्रमलाई प्राथमिकतामा ल्याउने भएको छ ।
गाउँपालिकाले आइतवार १६ औं गाउँसभाका बीच आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भिजिट अन्नपूर्ण कार्यक्रमलाई पर्यटन प्रवद्र्धनको महत्वपूर्ण योजनाका रुपमा अगाडी सारेको हो ।
जस अन्तर्गत गाउँपालिकाले विरेठाँटीमा निर्मित एकीकृत पर्यटन सूचना केन्द्रलाई अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने भएको छ ।त्यसका साथै पर्यटकीय क्षेत्रलाई थप सुरक्षित बनाउने, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि आवश्यक गुरुयोजना तयार गर्ने, कृषि र पर्यापर्यटन विकासमा जोड दिने, गाउँपालिका क्षेत्रभित्र नयाँ पर्यटकीय पदमार्गको पहिचान तथा निर्माण गर्ने नीति पालिकाले अगाडि सारेको छ ।
त्यस्तै अन्नपूर्ण आधार शिविरको मौलिकता र सुन्दरता कायम गर्ने, सबै जनतालाई पर्यटन व्यवसायबाट लाभान्वित बनाउन चक्रिय पदमार्गको अवधारणलाई कार्यान्वयन गरिने, सांस्कृतिक संग्राहलय विकासमा जोड दिने, अन्नपूर्ण म्याराथुनलाई हाई अल्टीच्युउड स्पोर्टका रुपमा प्रचारप्रसार गर्ने, अन्नपूर्ण आधार शिविर क्षेत्रमा मौरिस हर्जोगको सम्झनामा पार्क निर्माणको पहल गर्ने, अन्नपूर्ण ११ छोम्रोङमा पर्यटकको स्वास्थ्यलाई लक्षित गरी हेल्थ डेक्स् स्थापना गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै गाउँपालिकाले कृषितर्फ कृषि विमा कार्यक्रमबारे जनचेतना फैलाउने, एक घर एक टनेल कार्यक्रममा ५० प्रतिशत अनुदान दिने, एक घर एक करेसावारी कार्यक्रम कार्यान्वयन गर्ने, पालिका स्तरीय कृषि सूचना केन्द्र स्थापना गर्ने, पार्कोट र लिमे जस्ता रैथाने जातका भैँसीपालनलाई प्राथमिकता दिने भएको छ ।
गाउँपालिकाले काम गरेर सिक्छ देखेर विश्वास गर्दछ, दुध उत्पादनको मुख्य आधार कृत्रिम गर्भाधानद्वारा पशुमा नश्ल सुधार, जहाँ विद्यार्थी त्यहाँ शिक्षक, विद्यालय परिवारसँग गाउँपालिका, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, विद्यालय नर्सिङ कार्यक्रम, बुक फ्रि फ्राइडे, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, आफ्नो टोल नगरौं फोहोर, जेष्ठ नागरिक अनुभवका खानी सम्मान गर्ने बसालौं बानी जस्ता कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।
त्यस्तै अन्नपूर्णले संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा कोदोबाट उत्पादित लोक्कल रक्सीलाई ब्रान्डीङ गर्ने, गाँजा खेतीलाई प्राथमिकता दिने, पालिका क्षेत्रका सहकारीहरुको नियमित निरिक्षण तथा अनुगमनको व्यवस्था गर्ने, कोसेली घर संचालनमा ल्याउने, परीक्षणका रुपमा पढ्दै कमाउदै कार्यक्रम विस्तार गर्ने, विद्यालय क्षेत्रलाई मदिरा निशेधित क्षेत्र बनाउने, स्वास्थ्य विमा कार्यक्रममा जनसहभागिता बढाउने, आपतकालिन सुरक्षित मातृत्व कोष स्थापना गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए।
त्यस्तै पालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक अवस्थामा प्रयोग गर्न मिल्ने गरी अक्सिजन सिलिन्डर तथा त्यससँग सम्बन्धीत सामग्री व्यवस्थापन गर्ने, अन्नपूर्ण प्रज्ञा प्रतिष्ठान गठन गरिने, अध्यक्ष कप भलिवल तथा फुटवल प्रतियोगिता संचालन गर्ने, बालश्रममुक्त पालिका घोषणा गरिने, पालिका स्तरीय विभिन्न विद्यामा अन्नपूर्ण तारा कार्यक्रम संचालन गर्नेे, मुस्कान सहित सेवा दिने, गाउँपालिका स्थापना दिवसलाई(फागुन २७) अन्नपूर्ण महोत्सवका रुपमा मनाउने, एनजिओ डेक्स् स्थापना गर्ने, गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु गर्ने नीति अन्नपूर्णले लिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रम माथि गाउँसभा सदस्यहरु भानुभक्त दाहाल, रामबहादुर विक, ज्ञानबहादुर क्षत्री, विजय गुरुङ र जगनबहादुर गुरुङले विभिन्न सुझाए दिए ।उनीहरुले पालिका भवन ढिकुरपोखरीमा नै बनाउनुपर्ने, एम्बुलेन्स् तथा स्टेचर खरिद गर्नुपर्ने, किसानलाई सम्मान गर्ने वातावरण बनाउनुपर्ने, समयको महत्वलाई पालिका नेतृत्वले ख्याल गर्नुपर्ने लगायत सुझाव राखे ।
जवाफमा गाउँपालिका अध्यक्ष केसीले गाउँसभा सदस्यले दिएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने विश्वास दिलाए।
पालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले संचालन गरे ।

Advertisment