पोखरा । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरू भएको छ। प्रतिष्ठानमा कार्यरत फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतिसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एन्जियोप्लास्टि गरेको थियो। 
हृदयघात(हर्टअट्याक) भएका विरामीहरुलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा. देवकोटाले बताए। उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रकालागि एउटा उपलब्धी हो। एन्जियोप्लास्टि गरिएका बिरामीहरुको अबस्था सामान्य रहेको मुटु रोग विशेषज्ञ डा. उप्रेतीले बताए। 
पहिलो पटक जिल्लामा यो सेवा सुरु भएपछि मुटुका समस्या कहेकाहरुमा ठुलो राहात मिल्ने प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए । सो उपचारका लागि क्याथेल्याबसहित १० करोड बराबरका सामग्री ल्याईएको छ। सबै सामग्री तयारी पछि पहिलो पटक बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर देवकोटालाई ल्याई सेवालाई सुरुवात गरिएको उनको भनाई छ।

प्रतिष्ठानबाट केही दिन अघि एन्जोयोग्राफी सेवा दिईएको थियो। जुन निदानात्मक उपचार थियो भने आज(शुक्रबार) एन्जियोप्लाष्टि सेवा सुरु गरिएको हो। जुन उपचारात्मक रहेको छ। दाङमै यो सेवा सुरु भएपछि जिल्ला बाहिरका विरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक प्राडा जनार्दन पन्थीले बताए।
उनका अनुसार विपन्न नागरिक औषधि उपचार कोषमा सूचिकृतकालागि निवेदन समेत पठाएकाले सूचिकृत हुने वित्तिकै विरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने प्रतिष्ठानका निमित्त डिन प्राडा रमेश कडेलले बताए। हाल मुटुको उपचारकालागि एक लाख भन्दा बढि खर्च लाग्ने गरेको छ। प्रतिष्ठानमा मुटुको इको समेतको सेवा यसअघि नै सुरु भइसकेको छ ।




