कला क्रान्ति अवार्डबाट कलाकार तथा सञ्चारकर्मी सम्मानित

पोखरा । खोटाङमा आयोजित एक समारोहका बीच हालै नगेन आर्ट एकेडेमीले कलाकार तथा सञ्चारकर्मीहरूलाई सम्मान गरेको छ। कार्यक्रममा भुवन थापा (ललितकला डायमन्ड वर्ष व्यक्ति), नरबहादुर विके र इन्दिरा श्रेष्ठ ‘कमला’ (जनही ५० हजार रुपैयाँ नगदसहित क्रमशः ललितकला डायमन्ड वर्ष पुरुष र नारी) सम्मानित हुनुभएको छ।

त्यस्तै, समीक्षकका रूपमा वासुदेव पौडेल तथा मूर्तिकारहरू केडि देवान, सुष्मा श्रेष्ठ, कृष्ण चौलागाई, चित्रबहादुर थापा मगर ‘सुमन’, धिरज राई र गोपी श्रेष्ठ सम्मानित हुनुभयो। सोही अवसरमा भारतका सर्फुदिन अहमदलाई ‘एम एफ हुसैन इन्टरनेशनल अवार्ड’ प्रदान गरियो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, नकुल सिंह र प्राज्ञ नगेन सिंह लगायतले उक्त सम्मान प्रदान गर्नुभएको थियो। नगरप्रमुख भट्टराईले कला क्षेत्रको विकासका लागि नगरपालिकाले कला संग्रहालय र बाँस पार्क निर्माण गर्न लागेको बताउनुभयो। प्राज्ञ सिंहका अनुसार कला क्षेत्रलाई प्रोत्साहन गर्न वि.सं. २०६४ देखि यो कार्यक्रम गरिँदै आएको हो।

कलाकारका लागि कलाकार” अन्तर्राष्ट्रिय खुला कला प्रतियोगिता

नगेन न्युज पब्लिकेशनले ‘कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ हरेक वर्ष अन्तर्राष्ट्रिय खुला कला अनलाइन प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्दै आएको छ।

कोरोना महामारीको समयमा कलाकारहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको यस प्रतियोगिताको निर्णायक मण्डलमा पाकिस्तान, भारत, टर्की, अष्ट्रेलिया र नेपालका कला विज्ञहरू रहनुभएको थियो। पब्लिकेशनका अध्यक्ष ज्योति हमालका अनुसार कलाकृति बिक्रीबाट हुने आम्दानीको ७० प्रतिशत कलाकार आफैँलाई र बाँकी रकम पुरस्कार, कल्याणकारी कार्यक्रम तथा स्मारिकाका लागि छुट्याईने भएको छ ।

Advertisment