घान्द्रुक, कास्की । कास्कीको प्रख्यात पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिका–११, घान्द्रुकस्थित वनठाँटीमा सोमबार राति गएको विनाशकारी पहिरोले ठूलो भौतिक क्षति पुर्याएको छ। अविरल वर्षासँगै आएको लेदोसहितको भीषण पहिरोले स्थानीय दुईवटा होटल, एउटा पक्की पुल र मुख्य पदमार्ग पूर्ण रूपमा बगाएको छ।

रातिको समयमा पहिरो आएकाले ठूलो मानवीय दुर्घटनाको जोखिम भए पनि होटलमा रहेका पर्यटक र कर्मचारीहरू समयमै सुरक्षित स्थानमा भाग्न सफल भएकाले मानवीय क्षति भने हुन नपाएको स्थानीयले बताएका छन्।
बाढी र लेदोसहितको पहिरोले सोत्तर बनायो होटल र पुल
मुल्डे भ्यू पार्क व्यवस्थापन समितिका अध्यक्ष राजमान गुरुङका अनुसार सोमबार राति माथिबाट लेदो, माटो, ढुङ्गा र काठका मुढासहित आएको विनाशकारी पहिरोले स्थानीय होटल सनराइज र होटल शंकरमा व्यापक क्षति पुर्याएको छ। होटल सनराइज राम गुरुङ र होटल शंकर गोकुल गुरुङले सञ्चालन गर्दै आएका थिए।
पहिरोले होटल मात्र नभई स्थानीय खोलामा रहेको पक्की पुल र पदमार्गसमेत निसाना बनाएको छ। “मध्यरातमा अचानक आएको पहिरोले होटल र पुल सखाप पार्यो,” अध्यक्ष गुरुङले भने, “पर्यक र स्टाफहरू सुतिरहेको अवस्था भए पनि भाग्यवश सबै सकुशल रहन सफल भए।”
स्थलगत अवलोकन र क्षतिको यकिन गरिँदै: एक्याप
यसैबीच, घटनालगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी र भद्रभलादमीसहितको टोलीले घटनास्थलको स्थलगत अवलोकन गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) घान्द्रुकका सूचना अधिकारी भीम प्रसाद उपाध्यायका अनुसार टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरी भौतिक क्षतिको यकिन विवरण संकलन गरिरहेको छ।
उपाध्यायले युनाइटेड खबरलाई दिएको जानकारी अनुसार, पहिरोले पूर्ण रूपमा ठप्प बनेको पदमार्गलाई चाँडोभन्दा चाँडो खुलाएर पर्यटकहरूको आवतजावतलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूबीच सघन समीक्षा र छलफल भइरहेको जानकारी दिएकाछन् ।
प्रमुख पर्यटकीय पदमार्ग पूर्ण रूपमा ठप्प
यस पहिरोले कास्की र म्याग्दी जोड्ने प्रमुख पर्यटकीय रुटहरूमा गम्भीर असर पुर्याएको छ। पहिरोका कारण पदमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्:
घान्द्रुक–दोबाटो हुँदै मुल्डे भ्यू पार्क पदमार्ग, खोप्रा ट्रेक तथा हिडन लेक पदमार्ग, पुनहिलबाट अन्नपूर्ण आधार शिविर (ABC) जाने मुख्य पर्यटकीय मार्ग पहिरोले तीनभन्दा बढी स्थानमा पदमार्गको निसाना नै मेटाएर बगाएका कारण हाल सो क्षेत्रमा स्थानीय तथा पर्यटकहरूको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
“अहिले अफ-सिजन (बेमौसम) मा पनि यो क्षेत्रमा पर्यटकहरूको आवतजावत भइरहन्थ्यो। तर, मुख्य पदमार्ग नै छिन्नभिन्न भएपछि स्थानीय पर्यटन व्यवसाय संकटमा परेको छ। सम्बन्धित निकायले तत्काल पहिरो पन्छाएर बाटो खोल्नुपर्छ।” — राजमान गुरुङ, अध्यक्ष, मुल्डे भ्यू पार्क व्यवस्थापन समितिले भने ।
सरकारको तत्काल ध्यानाकर्षण: राहत र पुनर्निर्माणको माग
स्थानीयवासीले ठूलो मानवीय संकट टरेकोमा राहत महसुस गरे पनि वनठाँटी क्षेत्रको पर्यटन र अर्थतन्त्र जोगाउन संघीय, प्रदेश र स्थानीय सरकारले तत्काल थप तदारुकता देखाएर पुनर्निर्माणको काम अघि बढाउनुपर्ने स्थानियले आवश्यकता औँल्याएका छन्। तस्वीर : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) घान्द्रुक




