पोखरा । नेपाली कांग्रेसका नेता एवं पूर्वसहायक मन्त्री प्रकाशबहादुर गुरुङको आज उपचारका क्रममा पोखरास्थित मणिपाल अस्पतालमा निधन भएको छ। केही समयदेखि अस्वस्थ रहनुभएका गुरुङको उपचारकै क्रममा निधन भएको हो।
कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकका गोलमान साहुका नाति तथा मीनबहादुर गुरुङका छोरा प्रकाशबहादुर राजनीतिमा प्रवेश गर्नुअघि अध्यापन पेसामा संलग्न हुनुहुन्थ्यो। नेपालकै ठूला आंगिक क्याम्पसहरूमध्येको एक पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा उहाँले करिब साढे १५ वर्ष प्राध्यापन गर्नुभएको थियो। सरकारी सेवाको पेन्सन अवधि निस्कन केही समय मात्र बाँकी रहँदा उहाँ प्राध्यापन पेसा छाडेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिनुभएको थियो।
२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले उहाँलाई कास्की क्षेत्र नम्बर ३ बाट ‘रुख’ चिन्ह दिएर उम्मेदवार बनाएको थियो। उक्त निर्वाचनमा उहाँले नेकपा (एमाले) का चर्चित नेता सोमनाथ अधिकारी ‘प्यासी’लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।
संसदीय यात्राको सफलतासँगै उहाँ २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहायक मन्त्री पदमा नियुक्त हुनुभएको थियो। त्यसबेला पूर्णबहादुर खड्का क्याबिनेट मन्त्री हुनुहुन्थ्यो।
भोलि अन्त्येष्टि गरिने, केन्द्रीय नेताहरू पोखरा आउने
अहिले घरमा लगेर बौद्द परम्परा अनुसारको पुजा गरिरहेको गुरुङको पार्थिव शरीरलाई बुघबार बिहान १०:३० बजे श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको चिप्लेढुङ्गा स्थित जिल्ला पार्टी कार्यालयमा राखिने भएको छ। त्यहाँ करिब आधा घण्टा श्रद्धाञ्जलीका लागि राखिएपछि पार्थिव शरीरलाई पोखराको रामघाटस्थित बौद्ध अर्घौं सदनमा लगेर अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
पूर्वसहायक मन्त्री गुरुङको अन्त्येष्टिमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री एवं पार्टीका शीर्ष नेता शेरबहादुर देउवा पोखरा आउनुहुने चर्चा भएको छ । वहांको अन्त्येष्टीमा नेताहरु आउनुभए कांग्रेसको तर्फबाट सच्चा सम्मान हुने गुरुड परिवारमा देखिन्छ । देउवा- गगन आउने कुरा चर्चामा रहेतापनि पक्का पक्की भने भईनसकेको बताईन्छ । तर पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, तथा पूर्वसहमहामन्त्री एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महत लगायतका केन्द्रीय नेताहरू पोखरा आउने कार्यक्रम भने तय भईसकेको स्रोतले जनाएको छ।




