पोखरा, २१ असार । वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको ‘फोटो पत्रकार अक्षयकोष’ लाई नगद ६३ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
रञ्जितले हालै प्राप्त गरेको ‘एनओसी बेस्ट क्यामेरापर्सन अवार्ड’ को ५० हजार पुरस्कार राशिमा १३ हजार थप गरी उक्त रकम संघका अध्यक्ष राम गुरुङलाई हस्तान्तरण गर्नुभएको हो।
सहयोग रकम ग्रहण गर्दै अध्यक्ष गुरुङले पोखराको खेलकुद र फोटो पत्रकारितामा रञ्जितको योगदानको प्रशंसा गर्नुभयो। कार्यक्रममा नागरिक अभियन्ता रामबहादुर पौडेलले ६२/६३ को जनआन्दोलन, २०७२ को भूकम्प र २०८२ को आन्दोलनहरूमा फोटो पत्रकारले इतिहास जीवन्त राखेको बताउँदै अक्षयकोषमा आफूले पनि थप रकम सहयोग गर्नुभयो।
सम्मानित एवं निर्वाचित पत्रकारहरूलाई बधाई
सोही अवसरमा एनपिजेए कास्कीले विभिन्न विधामा सम्मानित तथा निर्वाचित फोटो पत्रकारहरूलाई बधाई ज्ञापन गर्यो:
सुदर्शन रञ्जित (एनओसी बेस्ट क्यामेरापर्सन अवार्ड)
कृष्णामणि बराल (दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार)
इन्द्र पौडेल (संस्कृति संरक्षण पत्रकारिता सम्मान)
दुर्गा रानामगर (पोखरा महानगर युवा प्रतिभा पुरस्कार)
सुरेश सुनार (विश्वकर्मा समाज कास्कीबाट सम्मानित)
राधिका कँडेल (अध्यक्ष, सञ्चारिका समूह गण्डकी)
कार्यक्रममा संस्थाकी सहसचिव दुर्गा रानामगरले यस्ता सम्मानले पत्रकारिता क्षेत्रमा लाग्न थप ऊर्जा मिल्ने बताउनुभयो।




