महेश ढुंगाना
छाङवन, दक्षिण कोरिया —
दक्षिण कोरियामा बहुसांस्कृतिक कार्यक्रम “माम्फ” आयोजना हुने भएको छ।
ख्याङ्नाम इजुमिन सेन्टर छाङवनको आयोजनामा छाङवन शहरमा यस वर्ष पनि २१ औँ बहुसांस्कृतिक कार्यक्रम “माम्फ” हुन लागेको हो । आगामी अक्टोबर २५ तारिखका दिन आयोजना हुने कार्यक्रममा विभिन्न १६ देशका प्रतिनिधिहरूले आ–आफ्नो देशको मौलिक संस्कृति, भेषभूषा, कला तथा सांगीतिक प्रस्तुतिमार्फत बहुसांस्कृतिक विविधता प्रदर्शन जनाएको छ । कार्यक्रममा नेपालका तर्फबाट यसपटक विभिन्न समुदायका मौलिक कला तथा सांस्कृतिक प्रस्तुतिहरू विशेष आकर्षणका रूपमा रहने छन्। मगर समुदायको कौरा तथा सालैजो, सगरमाथा समाजको पञ्चेबाजा, सुदूरपश्चिम समाजको देउडा तथा थारु समुदायको सामूहिक नृत्य प्रस्तुतिमार्फत नेपालको समृद्ध सांस्कृतिक सम्पदा अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने तयारी भइरहेको छ। कार्यक्रममा नेपालकी चर्चित गायिका बबीना किराती विशेष अतिथि कलाकारका रूपमा सहभागी हुने भएकी छिन्। उनले सांगीतिक प्रस्तुतिमार्फत नेपाली कला र संगीतलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्नेछिन्।
आयोजक ख्याङ्नाम इजुमिन सेन्टर छाङवनसँगको सहकार्यमा ख्याङ्नाम नेपाली समाजले हरेक वर्ष नेपाललाई चिनाउने उद्देश्यले विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि नेपाली संस्कृति, पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवद्र्धन गर्ने उद्देश्यले विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको समाजले जनाएको छ।
ख्याङ्नाम नेपाली समाजका अध्यक्ष रवी खवासले कोरियामा रहेका सम्पूर्ण नेपाली संघ–संस्था तथा नेपाली समुदायको सहयोग र सहभागिताले कार्यक्रमलाई थप प्रभावशाली बनाउन सकिने बताए। उनका अनुसार, “नेपाली संस्कृति, पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो। विभिन्न समुदायका मौलिक कला र संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गरेर नेपालको विविधता चिनाउने प्रयास गरिएको छ।” १६ देशका प्रतिनिधिहरूको सहभागिता रहने उक्त बहुसांस्कृतिक कार्यक्रमले दक्षिण कोरियामा रहेका विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान, आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।




