पोखरा, १७ असोज । पोखराको काँहुडाँडालाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा पुनः रुद्रकुमारी गुरुङ ‘मैना’ निर्विरोध निर्वाचित हुनुभएको छ। समितिको ११ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अध्यक्ष पदका लागि रुद्रकुमारी गुरुङ र राजबहादुर गुरुङको उम्मेदवारी परेको थियो। यद्यपि, सभाहलमा भएको गहन छलफल र सहमतिको प्रयासपछि राजबहादुर गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रुद्रकुमारी निर्विरोध हुनुभएको हो। वि.सं. २०७२ देखि निरन्तर संस्थाको नेतृत्व सम्हाल्दै आउनुभएकी उहाँ पुनः नयाँ कार्यकालका लागि चुनिनुभएको हो। यसअघि सचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका राजबहादुरले संस्थागत एकता र हलको माहोललाई मध्यनजर गर्दै उम्मेदवारी फिर्ता लिनुभएको बताइएको छ।
नयाँ कार्यसमितिमा को-को?
निर्वाचन समितिका संयोजक तथा संस्थाका सल्लाहकार शंकर गुरुङका अनुसार गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा भरतराज शाक्य, सचिवमा पूर्ण लामा, सहसचिवमा हुमबहादुर गुरुङ र कोषाध्यक्षमा श्याम शाक्य चयन हुनुभएको छ। यस्तै, सदस्यहरूमा मेजर लक्ष्मीप्रसाद गुरुङ, पञ्चकुमारी गुरुङ र नरेन्द्रमान लालचन लगायत चयन हुनुभएको छ।
निर्माणाधीन मण्डलाको कामलाई गति दिन आग्रह
कार्यक्रमका प्रमुख अतिथि एवं निर्वाचन समितिका संयोजक शंकर गुरुङले संस्थाको योजना र उद्देश्य निकै प्रशंसनीय भए पनि प्राविधिक तथा प्रशासनिक जटिलताका कारण अपेक्षाअनुसारको प्रगति हुन नसकेको बताउनुभयो। उहाँले नयाँ कार्यसमितिलाई काँहुडाँडामा निर्माणाधीन बुद्ध मण्डलाको कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो।
अधिवेशनमा सचिव पूर्ण लामाद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनका साथै कोषाध्यक्ष श्याम शाक्य र सचिव लामाद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको छ।
अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा भरतराज शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव पूर्ण लामाले गर्नुभएको थियो।
बुद्ध मण्डलाको अध्यक्षमा पुनः रुद्रकुमारी गुरुङ ‘मैना’ निर्विरोध निर्वाचित
October 3, 2026
34
Advertisment



