पोखरा, ३० असोज । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत रातको समयमा चर्को आवाजमा मोटरसाइकल पड्काउँदै हिँड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–७, सपौदे स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २१ वर्षीय देउबहादुर गुरुङ रहेका छन्।
प्रहरीका अनुसार बिहीबार (असार २९ गते) राति करिब १०:३० बजेको समयमा ग २२ प ६९५३ नम्बरको ‘क्रसफायर’ मोटरसाइकल चर्को आवाजमा पड्काउँदै हिँडेको सूचना पाएपछि प्रहरी टोली खटिएको थियो।
सो क्रममा प्रहरी टोलीले रोक्न खोज्दा मोटरसाइकल नरोकी ४ वटा चेकपोष्टबाट भागेका गुरुङले प्रहरी कर्मचारीहरूमाथि अभद्र व्यवहारसमेत गरेका थिए। त्यसपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका–२ स्थित बाग्लुङ बसपार्कबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर’ अन्तर्गत अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। तस्वीर -फाईल




