युनाईटेड खबर, दमौली (तनहुँ)। तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनको पहिलो दिन २५ जना सर्वसाधारणले निःशुल्क आँखा परीक्षण गराएका छन्। नेपाल नेत्रज्योति संघ कास्की र हिमालय आँखा अस्पताल घारीपाटनको प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा सञ्चालनमा आएको यस केन्द्रमा पहिलो दिनपछि भने बिरामी दर्ताका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
उद्घाटनका अवसरमा हिमालय आँखा अस्पतालका सामुदायिक कार्यक्रम संयोजक सुभाष नेपाल र व्यास आँखा उपचार केन्द्रका नेत्रसहायक गोविन्द ढकालले बिरामीको आँखा परीक्षण गर्नुभएको थियो। परीक्षणका क्रममा अधिकांश बिरामीमा दृष्टि कमजोर भई चश्मा प्रयोग गर्नुपर्ने समस्या देखिएको छ।
नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म आँखा उपचार सेवा पुर्याउने उद्देश्यले अस्पतालले स्थानीय तहहरूसँग समन्वय गर्दै आएको छ। व्यासस्थित केन्द्रमा आइकेयर फाउण्डेसनको सहयोगमा करिब २० लाख रुपैयाँ बराबरका आँखा परीक्षण तथा उपचार सम्बन्धी आधुनिक उपकरण जडान गरिएको छ। अत्याधुनिक उपकरणसहित केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई सामान्य आँखा परीक्षण र उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
स्थानीयस्तरमै आँखाका समस्याको समयमै पहिचान र उपचारको पहुँच विस्तार गर्ने लक्ष्यका साथ केन्द्र सञ्चालन गरिएको अस्पताल व्यवस्थापक कुमार गर्बुजाले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालले हाल गण्डकीका २८ र कर्णालीका ४ गरी कुल ३२ वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ। यी केन्द्रहरूमा शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीको लगत संकलन गरी अस्पतालले विशेष शल्यक्रिया शिविरहरूसमेत आयोजना गर्दै आएको छ।




