बालेन शाहको भारत भ्रमण : गोर्खा भर्ती र घनिष्ठ मैत्रीको नयाँ क्षितिज – राज बहादुर गुरुङ

राज बहादुर गुरुङ, कास्की । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिने उद्देश्यका साथ आइतबार दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री पद सम्हालेपछि मित्रराष्ट्र छिमेकी मुलुक भारतमा उहाँको यो पहिलो राजकीय भ्रमण हो। भ्रमणका क्रममा उहाँले भारतीय सेनाकी परमाधिपति समेत रहनुभएकी भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ भने भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता र समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय वार्ता गर्ने कार्यतालिका रहेको छ।

सदिऔँदेखिको रोटी–बेटी र गोर्खा सैनिक, जनस्तरको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशामा यो भ्रमण एउटा महत्त्वपूर्ण मोड साबित हुने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा व्यापार, पारवहन, पूर्वाधार विकास र भारत सरकारले दिँदै आएका विकास अनुदान (ग्रान्ट) सहयोगलाई निरन्तरता दिँदै थप नयाँ सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा गहन छलफल हुनेछ।

गोर्खा भर्ती गतिरोध : संवाद र ऐतिहासिक साझेदारीको रक्षा

भ्रमणको सबैभन्दा संवेदनशील र रणनीतिक महत्त्वको विषय गोर्खा भर्ती को गतिरोध अन्त्य गर्नु पनि हुनुपर्दछ । सन् २०२२ को जुनमा भारतले ‘अग्निपथ’ योजना लागू गरेयता नेपालमा गोर्खा भर्ती लामो समयदेखि रोकिएको छ। सन् १९४७ को त्रिपक्षीय सम्झौताको मर्म, चारवर्षे सेवा अवधि, र सेवापछिको सामाजिक सुरक्षाबारे नेपालका चासोहरू स्वाभाविक भए पनि संवादहीनताका कारण हजारौँ आकांक्षी नेपाली युवा स्थापित अवसरबाट वञ्चित भएका छन्।

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल एन. एस. राजा सुब्रमण्यमले ४ नोभेम्बर २०२६ मा गर्नुभएको घोषणा—जसमा अग्निवीरहरूलाई थप दुई वर्ष सेवा गर्ने र नियमित सेनामा प्रवेशको बाटो खुलाउने प्रावधान अगाडी सार्नुभएको छ—यसले नयाँ आशा जगाएको देखिन्छ। राष्ट्रपति द्रौपदी मुर्मू भारतीय सेनाकी परमाधिपति समेत हुनुभएकाले उहाँसँगको शिष्टाचार भेट र प्रधानमन्त्रीस्तरीय वार्तामा गोर्खा भर्तीको विषयलाई गम्भीरताका साथ उठाइनुपर्दछ। दुई देशबीच असमझदारी भएका क्षेत्रहरूलाई समाधान गरी ऐतिहासिक गोर्खा विरासत र पारिस्पारिक साझेदारी सुचारु गर्न दुवै पक्षबीच स्पष्ट र पारदर्शी समझदारी बन्नु अपरिहार्य छ।

सीमा, व्यापार र हवाई रुटमा व्यावहारिक कूटनीति

द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन सीमा व्यवस्थापनका संवेदनशील विषय, व्यापार घाटा न्यूनीकरण, पारवहन सहजता, ऊर्जा सहकार्य र हवाई रुट विस्तारजस्ता दैनिक जनजीवनसँग जोडिएका एजेन्डालाई प्राथमिकता दिइनुपर्छ। हवाई रुट र व्यापार–पारवहनका व्यावहारिक अवरोधहरू हट्न सके दुवै देशको पर्यटन, उद्योग र आर्थिक गतिशीलतामा प्रत्यक्ष सकारात्मक प्रभाव पर्नेछ।

द्विपक्षीय साझेदारी : नेपालको योगदान र साझा सुरक्षा

सम्बन्ध सधैँ दुईतर्फी र सन्तुलित हुनुपर्छ। नेपालले भारतबाट सहयोग अपेक्षा मात्र गर्ने नभई क्षेत्रीय स्थायित्व र समृद्धिमा सकारात्मक योगदान पुर्‍याउन सक्छ:

सुरक्षा सहकार्य र आतङ्कवाद नियन्त्रण: खुला सीमाको दुरुपयोग रोक्न,मानव बेचबिखनको समस्या, सिमापार अपराध र आतङ्कवाद नियन्त्रणमा नेपालले सूचना आदानप्रदान र सुरक्षा निकायबीच समन्वय बढाएर भारतको सुरक्षा हितमा रचनात्मक सहयोग पुर्‍याउन सक्छ।

– सीमा स्थायित्व: सीमा क्षेत्रलाई व्यवस्थित र मैत्रीपूर्ण राख्दै जनस्तरको अविश्वास हटाउन नेपालले नेतृत्वदायी भूमिका खेल्न पर्नेछ।

– ऊर्जा र हरित रूपान्तरण: नेपालको जलविद्युत् उत्पादनले भारतको स्वच्छ ऊर्जा आवश्यकता र हरित रूपान्तरणमा योगदान पुर्‍याउँछ।

– गोर्खाली सैनिकको मान–सम्मान: अनुशासित र वीर गोर्खा सैनिकको योगदानले भारतीय सेनाको गौरवशाली इतिहास र दुवै देशको मान–सम्मानलाई सधैँ उच्च राखेको छ।

अन्तमा ….

प्रधानमन्त्री बालेन्द्र शाहको यो भारत भ्रमण केवल औपचारिक आदानप्रदानमा सीमित नरहेर ठोस सहमति र विश्वास पुनर्स्थापनाको माध्यम बन्नुपर्दछ। विगतका असमझदारी पन्छाउँदै समाधानमुखी संवाद, पारस्परिक सम्मान र साझा हितका आधारमा अघि बढ्दा गोर्खा भर्ती सुचारु हुनुका साथै दुई छिमेकीबीचको सम्बन्ध अझ परिपक्व र मजबुत बन्नेछ। दुवै देशको समृद्धिका लागि यो भ्रमण एक ऐतिहासिक कोसेढुङ्गा साबित होस् कामना गर्दछु ।

Advertisment