विद्यार्थीको मृत्युपछि पोखरामा तनाव, प्रहरीबाट चार राउण्ड अश्रुग्यास प्रहार, केन्द्रिय सदस्य सहित आधा दर्जन विद्यार्थी नेता घाइते

भुपाल गुरुङ,
पोखरा, २३ माघ ।

पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत विद्यार्थी बोधराज ढकालको नगर बसको ठक्करबाट मृत्यु भएपछि मंगलबार तनाव भएको छ ।

सोमबार साँझ पिएन क्याम्पस गेट अगाडी नगरबसले किचेर घाइते भएका ढकालको मृत्यु भएपछि विद्यार्थीले मंगलबार विहानै देखि चक्काजाम गरेका छन् । ढकाल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति समेत थिए । नाराबाजी सहित आन्दोलनमा उत्रिएका विद्यार्थीलाई तितरवितर पार्न प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रहरी र विद्यार्थी बिचको झडपमा नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल, गोपाल गुरुङ, विद्यार्थी नेताहरु समित केसि, सुवास अधिकारी , प्रभाचन्द्र सापकोटा, गोविन्द नेपाली लगायतका घाइते बताएको छ ।

नेविसंघले पोखरा १ बगर क्षेत्रमा विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले पोखरामा नगर बस चलेको छैन । पिएन क्याम्पस अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै केहीबेर मुठभेड समेत भएको थियो । दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरुले पोखराका २५ भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चावी पनि नियन्त्रणमा लिएका छन । विरोधमा उत्रिएका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको छानवीन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने नेविसंघ कास्कीले बताएको छ । घट्नाको विषयलाई लिएर प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालय कास्कीमा बैठक बसिरहेको छ । घटनाबारे छानवीन भैरहेको प्रहरीले जनाएको छ ।

Advertisment