एन्फा निर्वाचन : ‘बी’ र ‘सी’ डिभिजनको प्रतिनिधि छनोट

काठमाडौँ, वैशाख ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजनबाट प्रतिनिधि छनोट भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार अबेर सम्पन्न निर्वाचनमार्फत ‘बी’ डिभिजनबाट ११ र ‘सी’डिभिजनबाट ९ क्लबले निर्वाचनका लागि मताधिकार प्राप्त गरेका हुन् ।

प्रतिनिधि छनोटको निर्वाचनमा ‘बी’ डिभिजनका १४ क्लब सहभागी थिए । जसमा चर्च ब्वाइज युनाइटेड, खुमलटार युथ क्लब, रानी पोखरी कर्नर टिम (आरसिटी), सरस्वती युथ क्लब, श्री भगवती, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, बाँसबारी, श्री कुमारी र ब्वाईज युनियनले मताधिकार पाए । सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज युनाइटेडले मताधिकार प्राप्त गर्न सकेनन् ।

यसैगरी ‘सी’ डिभिजनबाट मनोहरा एकिकृत युवा क्लब, पुल्चोक स्पोर्ट्स, समाज कल्याण, खालीबारी युथ, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु, आरसी ३२ फुटबल एकेडेमी, महावीर स्टडिज एन्ड एसोसिएसन र वीरगंज युथ एकेडेमीले मताधिकार पाएका छन् । ‘सी’ का १४ क्लबमध्ये झापा फुटबल क्लब, ओसिस क्लब, सानेपा फुटबल क्लब, रानीबन र साँगा फुटबल क्लबले मताधिकार पाएनन् । एन्फाको चुनाव आगामी असार ६ गतेका लागि तय भएको छ ।

Advertisment