पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाईकलको स्वरुप परिवर्तन गरी समाजमा हो हल्ला मच्चाउँदै हिड्ने १ जना व्यक्तिलाई मोटरसाईकल सहित पक्राउ गरेको छ ।
मिति २०८१।०२।०८ गते १८:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा स्वरुप परिवर्तन गरी चर्को आवाज आउने गरी पड्काउँदै हिडिरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।
प्रहरीले बा १० प ५२२८ नम्बरको क्रसफायर मो.सा. मा सवार जिल्ला मुस्ताङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३ नदिपुर बस्ने वर्ष २१ को मनिष सिस्तेललाई मो.सा. सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कास्की जिल्लामा स्वरुप परिवर्तन गरी अत्यधिक मात्रामा ध्वनी प्रदुषण गरी सवारी साधन चलाउने गरेको जनगुनासो प्राप्त पश्चात जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले अभियानकै रुपमा कार्यक्रम संचालन गरिरहेको छ ।
स्वरुप परिवर्तन गर्ने मो.सा.हरुलाई नियन्त्रणमा लिई कारवाही गर्ने, सवारी साधनको मोडिफाई नगर्न नगराउनु हुन वर्कसप संचालक, रिकन्डिसन हाउस संचालक लगायत सरोकारवाला व्यक्तिहरुसंग अन्तरक्रिया तथा सचेतना मूलक स्टिकर समेत टाँस गरि सूचना समेत प्रकाशन गरेको छ ।




